बैशाख २६, २०८१, बुधबार
               

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन । 

आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । लेन्थवर्करहरू काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै गत असारमा २३ दिनसम्म पाटनमा अनशन बसेका थिए । अनसनपछि प्रक्रिया पुर्‍याएर पारिश्रमिक दिने भनि जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरूसँग सहमति भएको थियो । सहमतिपत्रमा तलब खुवाउनका लागि पहल गर्नेदेखि उनीहरूलाई निरन्तर काममा लगाउने लगायतका बुँदाहरू समावेश गरिएकाछन् । 

आफूहरूको मागप्रति सरकारले वास्ता नगरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन्, ʻहामी विगत धेरै वर्षदखि सडकमा काम गर्दै आएका छौँ । कोही १२ वर्ष काम गरेका व्यक्ति छौँ भने एकजना ३२ वर्ष सडकमै काम गरेका व्यक्ति हुनुहुन्छ । हामीले विगतमा निरन्तर तलब पाउँदै आएका थियौँ । जब हामी काम गर्ने सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत आयो भन्ने सुनियो । त्यसबेलादेखि तलब पाएका छैनौँ । हाम्रो समस्या नेता सांसद मन्त्री सबैलाई सुनायौँ । आश्वासन सबैबाट पाइयो । तर, तलब पाइएनाैँ । त्यसैले सडकमै २३दिन अनसनमा बस्यौँ, जिल्लाका सबैजसो कार्यालयका प्रमुखहरु आउनुभयो । पहल गछौँ भन्नुभयो । तर अहिलेसम्म तलब पाएका छैनौँ ।’ 

विगतमा संघीय सरकार मातहत रहेको पाटन–पञ्चेस्वर ३५किलोमिटर सडक प्रदेश सरकार मातहत आएसंगै लेन्थवर्करले तलब पाउन छाडेका हुन् । उनीहरू आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । प्रदेश सरकारबाट समेत प्रक्रिया पूरा गरेर तलब खुवाउने आश्वासन पाएका थिए ।

अहिले पाटन–पञ्चेस्वर सडक स्तरोन्नतीको क्रममा रहेकाले ग्वाल्लेक निर्माण सेवा मातहत काम गर्ने व्यवस्था मिलाइएको छ । गत १५ साउनदेखि ठेकेदार मातहत काम गरेको भए पनि हालसम्म ३ महिना बढी भएपनी तलब भने पाएका छैनन् । 

प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय बैतडीको लापरबाहीका कारण आफूहरूले तलब नपाएको लेन्थवर्कहरुको आरोप छ । तर, पूर्वाधार विकास कार्यालयले भने अझै आफ्नो मातहतमा सडक नआइसकेको जनाएको छ । 

ठेकेदारले काम सम्पन्न गर्न बाँकी रहेकाले आगामी महिना १२ किलोमिटर सडक पूर्वाधार कार्यालयको मातहतमा आउने र बाँकी २३ किलोमिटर निर्माण सम्पन्न भएपछि मात्रै पूर्वाधार कार्यालय मातहत आउने पूर्वाधार बिकास कार्यालय प्रमुख जगत प्रसाद जोसीले बताए ।

उनले भने, ‘अहिले उक्त सडक ठेकेदारकै मातहतमा छ । आगामी महिना हाम्रो कार्यालय मातहत आएपछी हामी पहल थाल्छौँ । उनीहरूले लामो दुई वर्षसम्मको तलव नाएको विषयमा प्रदेश सरकारले निति निर्माण गर्नु बाँकी छ । नीति बनेपछि तलब आउँछ होला । तर, नीति निर्माण गर्न प्रदेशभरिका सबै जिल्लाका सबै सडकका लागि एकै पटक बन्ने हुँदा ढिलाइ भएको हुनसक्छ ।’


कस्तो लाग्यो ?

यो पनि