असोज ०६, २०८१, आइतबार
               

नगरपालिकामा अनियमितताको विरोधमा भैंसी जुलुस

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

धनुषा । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध लामो समयदेखि धर्नामा बसेका संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ ।

संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार स्थानीयवासीले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् । विभिन्न सूचना माग गर्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि स्थानीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध जनाएका हुन्  ।

जुलुसमा सहभागीले नगरप्रमुख र कर्मचारीहरू विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । नगरप्रमुख र कर्मचारीको मिलोमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएको तर सो सूचना उपलब्ध नगराएका कारण संयुक्त संघर्ष समितिले अनसन थालेको समितिका अगुवा सुरेश यादवले जनाए ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइ बेरुजु ठहर भएको उल्लेख छ । सो लगत्तै स्थानीयवासीले समेत पालिकामा आन्दोलन गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि