असोज ०६, २०८१, आइतबार
               

१७ वर्षमै १३६ केजी तौल, परिवारमा चिन्ता

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

मोरङ । सामान्यतः १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाईँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाईँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल १ सय ३६ केजी छ भनेर सुन्दा । 

धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङ–४ सफेवा माध्यमिक विद्यालय कक्षा–१० मा पढ्छन् ।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो।

गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’

मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन् । उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’

मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगिम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन् ।’ 

स्कुलमा कोही पाहुना आए भने ऊसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।

मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।

‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ । आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’ 

१७ वर्षको उमेरमै उनको तौल १ सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला ? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।


कस्तो लाग्यो ?

यो पनि