असोज ०६, २०८१, आइतबार
               

बजार भत्काएपछि बाध्यता हट्यो

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

सप्तरी । राजविराज बजारमा एकै ठाउँमा नुनदेखि सुनसम्म वर्षौंदेखि पाइँदै आए पनि अहिले छुट्टाछुट्टै ठाउँमा सामान किन्न जानुपरेको छ स्थानीयले । राजविराज बजार नेपालमै एउटा नमुना रहेको स्थानीयहरू बताउँछन् ।

बजारलाई सुविधा सम्पन्न बनाउने उद्देश्यले राजविराज नगरपालिकाका मेयर, जनप्रतिनिधि र केही स्थानीयवासी मिलेर नयाँ भवनहरू बनाई पहिलेका संरचना भत्काएर नयाँ बनाउन सुरु गरेको तीन वर्ष बितिसक्दा पनि सुविधा सम्पन्न भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

बजार भत्काएर भवन निर्माणको काम सुरु भएपछि वर्षौंदेखि पसल थापेर बसेका व्यापारीहरू अहिले घरघरमा पसल खोलेर टोल छिमेकलाई सेवा दिँदै आएको राजविराज– ४ की सुनिता परियारले बताइन् ।

बजार भत्किएर विकल्प नभएपछि राजविराज – ३ स्थित घरमा तरकारीको पसल खोल्न बाध्य भएको रामकिशुन साहले बताए । उनले भने, ‘हटियामा बुबाले नै पसल थाप्नुभएको थियो, मैले पनि ३० वर्षजति त्यही पसल चलाएँ, बजार भत्काएपछि विकल्प नभेटेपछि घरमै पसल खोलेको हुँ, बस्ती ठूलो छ, यहाँ पनि व्यापार राम्रो छ ।’

राजविराज– २ का ५५ वर्षीय विन्दी मण्डलले भने, ‘तीन वर्षअघि नजिकै पसल थिएनन् । जे किन्न जाँदा पनि बजार जानुपर्ने बाध्यता थियो, अहिले सहज भएको छ, घरघरमा पसल छन् ।’ 

यहाँ सबै ठाउँको विकास भएको छ । पसल पसल मिलेर गाउँमा बजार बनेको छ । सामान किन्न सर्वसाधारणलाई सहज भएको छ भन्छन् स्थानीय ।

कोरोनाका कारण र बजार भत्काएपछि आफ्ना परिवारको दैनिकी धान्न बाध्य भएर घरघरमा खोलिएका पसलबाट सुविधा लिन स्थानीयलाई सहज भएको उद्योग बाणिज्य संघ सप्तरीका सचिव सुरेश सिंहको भनाइ छ ।

उनी भन्छन्, ‘पसलको सुविधा भएपछि गाउँघर शहर बजार जस्तो देखिन्छ, यसरी नै कुनै पनि ठाउँको विकास हुने हो ।’ 

सर्वसाधारणलाई पनि दैनिकी टार्न किनमेलका लागि शहरै पुग्नुपर्ने बाध्यता नभएको र अहिले सहज भएको नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली बताउँछन् ।

उनी भन्छन्, ‘अन्य क्षेत्रको विकास हुन नसके पनि गाउँगाउँमा  बजार पुगेको छ, विभिन्न ठाउँमा विभिन्न प्रकारका सरसामानका पसलहरू सञ्चालन भएका छन् ।’ 


कस्तो लाग्यो ?

यो पनि