असोज ०६, २०८१, आइतबार
               

आजदेखि मास्क नलगाए सार्वजनिक सवारीमा चढ्न नपाइने

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रु सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो ।

सो अनुसार स्वीकृत सिट क्षमता अनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।

आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ ।

चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुन सक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।

होटल पार्टी प्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ ।

स्थानीय ढुवानी बिहान १ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ः०० देखि बिहान ५ः०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि