बैशाख २७, २०८१, बिहीबार
               

मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारकाे मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

अस्वस्थ खानपान र जीवनशैलीका कारण अहिले वयस्क उमेर समूहका मानिसमा पनि मुटु रोग देखिन थालेको छ ।

धुम्रपान, मद्यपान तथा लागूऔषधको प्रयोग गर्ने युवाहरूमा अहिले मुटु रोगका साथै हृदयाघातको समस्या देखिन थालेको कार्डियोलोजी विभागका आवासीय चिकित्सक डा. अशोक श्रेष्ठले बताए । 'सामान्यतया ५०-६० वर्ष उमेर समूहका मानिसमा मुटु रोगको जोखिम बढी हुने भए पनि हाल वयस्कमा समेत मुटु रोगको समस्या देखिने गरेको छ', श्रेष्ठले भने, 'स्वस्थ मुटुका लागि जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ ।'

स्वास्थ्य सेवा विभागले गरेको स्वास्थ्य जनसांख्यिक सर्वेक्षण, २०१६ को तथ्यांकअनुसार वयस्क उमेर समूहका २३.४ प्रतिशत पुरुष र १६.८ प्रतिशत महिलामा यो समस्या देखिएको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटु रोगी रहेका छन् । दक्षिण एसियामा मुटु रोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो स्थानमा छ ।

मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपालमा एक लाख जनसंख्यामा ५६९ पुरुष र ४७९ महिला मुटु रोगले प्रभावित हुने गरेको पाइएको छ, जसमा १६ प्रतिशतलाई हृदयाघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग, चार देखि १० प्रतिशतलाई मुटुको धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने हुने गरेको तथ्यांकले देखाएको छ । 

मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्चरक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा कोलेस्ट्रोल, २० देखि २५ प्रतिशतमा धुम्रपान र १५ देखि २० प्रतिशत मोटोपन रहेको छ ।

विश्व मुटु महासंघका अनुसार बर्सेनि एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ, जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटु रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या बर्सेनि दुई करोड ५० लाखसम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटु रोग रहेको छ । मुटु रोगका कारण मृत्यु हुनेमा पनि ८५ प्रतिशत हृदयाघात रहेको तथ्यांकले देखाएको छ । विश्वमा मुटुको समस्याका कारण सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्छन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ । विश्वमा नै मुटु रोगीको संख्या लगातार बढिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि