असोज ०६, २०८१, आइतबार
               

काठमाडौं–मेघौली र काठमाडौं–सुनौली पर्यटकीय बससेवा सुरु

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौं–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौं–मेघौली बस सेवा सुरु गरेको हो ।

प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न पहिलोपटक काठमाडौं–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । “आन्तरिक पर्यटन प्रवर्द्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ”, उनले भने ।

यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौं–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौं– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।

काठमाडौंदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ बजे सोह्रखुट्टेबाट र काठमाडौंदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि