जेठ ०४, २०८१, शुक्रबार
               

बाढीले अवरुद्ध गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । 

पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो ।

पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो । सोमबारदेखि पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी बुधबार साँझबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडुले जानकारी दिए । 

बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भए पनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् । सोमबारबाट एकतर्फीरुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बडुले बताए ।

२३ स्मृतिबाहेक गैँडाकोटका अन्य डाइभर्सन भने यसअघि नै मर्मत गरिएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालन भएसँगै रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ छुट्न थालेका छन् ।

राजमार्ग पूर्णरुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवैतर्फ गरी करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो । डाइभर्सनमा दुईतर्फी सवारी सञ्चालनमा आएसँग उक्त सवारीको लाइन अहिले घट्दै गएको सूचना अधिकारी बडुले बताए ।

अझै सो खण्डमा बेला–बेलामा गाडी बिग्रिने, लेन मिचेर हिँड्न खोज्ने कारणले जामको समस्या कायमै रहेको छ । पानी नपरेर नियमित दुईतर्फी रुपमा आज दिनभर सवारी सञ्चालन हुन सके रोकिएका सबै गाडी पार हुनसक्ने उनले बताए ।

राजमार्ग विस्तारका क्रममा बनाइएका अस्थायी डाइभर्सन पानी परे कुनै पनि समय बाढीले क्षति पुर्याइ पुनः अवरुद्ध हुने सम्भावना भने यथावत छ ।  

यो पनि