सप्तकाेसी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।
काेसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनमा सप्तकाेसीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगै काेसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । साउन ३२ गते काेसीमा यसवर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।
पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले काेसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत काेसी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ।
यसैबीच निरन्तरको वर्षासँगै काेसीको वहावमा निकै नै उतारचढाव देखिंदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअसहितको टोली काेसी क्षेत्रको निरिक्षणमा निस्किएको छ।