इनरुवा । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोसी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्यांकरले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्यांकरको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा सफलको मृत्यु भएको हो ।
अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ। मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारण गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ट्यांकर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।