बैशाख १७, २०८१, सोमबार
               

पूर्वगृहमन्त्री ‘बादल’का साइँला भाइ नरेश जेलबाट छुटे

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । अदालतले तोकेको सजाय पूरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले बताए ।  उनले भने–‘सजाय पूरा गरेर उहाँ आज रिहा हुनुभएको छ ।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेतसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए ।

२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि