बैशाख २१, २०८१, शुक्रबार
               

आामाले छोरालाई मिर्गौला दिन मिल्यो तर, उपचार खर्च छैन

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

छोराको दुवै मिर्गौला फेल भएपछि कुन आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई।

२८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनको मुहारमा खुशी छैन। छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। 

कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै समस्यामा छ। उनले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्।

त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले बताए।

‘सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ। मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ,’ उनले भने।

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो। परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो। त्यसयता उहाँ नियमित डायलासिस गराउँदै आएका छन्।

स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए। ‘मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयौं, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो। सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ,’ उनले भने।

प्रत्यारोपणका रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन्। हालसम्म रु छ लाख खर्च भइसकेको छ।

अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्। हालसम्म रु आठ लाख सङ्कलन भएको पदमले बताए।

‘काम गरिखाने परिवार पर्‍यौं, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौँ’, उनले भने, ‘थप सहयोग पाए छोराको जीवन बचाउन सक्छौं।’


कस्तो लाग्यो ?

यो पनि