असोज ०६, २०८१, आइतबार
               

क्वाँटीको व्यापार ह्वात्तै घट्यो

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

जनै पूर्णिमाको रातमा खाईने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन्।

जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन्। 

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताए। क्वाँटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाइ छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन। धेरै कम छ । क्वाँटी वर्षमा एक पटक खानैपर्ने हो। तर यसको व्यापार कम छ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए। उनले कोहीकोही बुढाबुढीले जनै लगे पनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए। न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन्। तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ। तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ।


कस्तो लाग्यो ?

यो पनि