असोज ०६, २०८१, आइतबार
               

बाबु गुमाएकी बालिकाको शिक्षाको जिम्मा वडाध्यक्षले लिए

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् ।

अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई  उनले  एक लाख ५७ हजार रुपैयाँ नगद पनि सहयोग गरेका छन् । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताए ।

साथै वडासदस्य रुपकाजी लामाले १० हजार १०० रुपैयाँ बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गरेका छन् । ३६ वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उनको परिवार पीडामा छ ।

मृतक बस्नेत गाडी चालक थिए । उनले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गरिरहेका थिए । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो ।

वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले ५० हजार ५०० रुपैयाँ नगद पनि समीक्षाको परिवारलाई बुझाएका छन् ।

एक लाख ६ हजार रुपैयाँ थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्वअध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दीपक कार्कीलगायतका एकता समाजका पदाधिकारीले नगद संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि