बैशाख २३, २०८१, आइतबार
               

तीन करोड मास्क निःशुल्क बाँडिने

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

'मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको शुरुवात गरेका हुन्।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताए। उनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याए।

कोभिडले विश्वलाई नै प्रभावित पारिरहँदा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गरे। स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै उनले भने, 'नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो, जनता भकाभक मर्थे, कोरोना सङ्क्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको छ, मध्यपुरथिमि नगरपालिका त नमूना नै सावित भयो, यहाँबाट हामीले पनि धेरै सिक्यौं।'

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारीमा सबै स्थानीय तह रहनुपर्ने भन्दै उनले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्रि अभियान’ पनि चलाएको बताए। त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरोना भाइरस दिनदिन नै बढ्दै गएको र तेस्रो लहरको जोखिम बढेको अवस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट सुरु गरिएको बताए।

कोरोना प्रतिकार्यमा सफल व्यवस्थापन स्थानीय तहले गरेको छ भन्दै उनले कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताए । उनले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना सङ्क्रमण कम हुन्छ भन्ने विश्वास रहेको भन्दै मास्क अभियानले कोभिडको तेस्रो लहरलाई परास्त गर्न कोशेढुङ्गा सावित हुने दाबी गरे।

'थिमिमा आजबाट २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बङ्गलादेशबाट आएको पाँच लाख मास्क वितरण गर्दछौँ, त्यसका लागि १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्दै मास्क कसरी प्रयोग गर्ने भनेर सिकाउने छन्,' नगर प्रमुख श्रेष्ठले भने, 'अमेरिकाबाट तीन करोड मास्क आउँदैछ, त्यो मास्क उपत्यका मेयर फोसममार्फत उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान चलाइनेछ।'


कस्तो लाग्यो ?

यो पनि