असोज ०६, २०८१, आइतबार
               

भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले एक करोड रुपैयाँ खर्चेर पर्खाल लगाएर संरक्षण गरेको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०२ रोपनी जग्गामा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव भएको छ ।

भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वपः विश्वविद्यालय तथा ख्वपः मेडिकल कलेज बनाउन सरकारसमक्ष प्रस्ताव पेश गर्दै आएको यो जग्गामा बसपार्क बनाउन काठमाडौं महानगरपालिकामा सुझाव आएको हो । 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पेश गरेको ‘लामो दूरीका सार्वजनिक सवारीसाधन व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन २०७८’ मा सल्लाघारीको उक्त जग्गामा बसपार्क बनाउन सुझाव आएको महानगरपालिकाले जानकारी दिएको छ ।

दरबार हत्या काण्ड अगाडि तत्कालीन युवराज निराजन शाहको लागि दरबार बनाउन प्रारम्भिक तयार गरिसकेको यो जग्गामा पछि भक्तपुर नगरपालिकाले मेडिकल कलेज, भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले खेलकूद मैदान, मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायत विभिन्न निकायबाट विभिन्न संरचना बनाउन माग गरेका थिए ।

विसं २०७२ को विनाशकारी महाभूकम्पपछि भने भक्तपुर जिल्लाको एक मात्र ठूलो खुला क्षेत्रका रूपमा रहेको यो चौरलाई विपद् व्यवस्थापनका लागि प्रयोग गर्ने गरी खुला नै राख्नुपर्ने भक्तपुरका बासिन्दाले आवाज उठाउँदै आएका छन् ।

महानगरपालिकालाई कार्यदलले बुझाएको प्रतिवेदनमा जडीबुटीबाट भक्तपुरतर्फको मनोहरा खोला करिडोर या भक्तपुरको सल्लाघारीस्थित खाली जग्गामा बसपार्क बनाउने सुझाव प्रतिवेदन उल्लेख भएको बताइएको छ । 

महानगरपालिकाका अनुसार काठमाडौं उपत्यकामा १४ लाख विभिन्नखाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौं महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको छ ।

यातायातका साधनको चाप बढ्दो क्रममा रहेको तर व्यवस्थित बसपार्क नहुँदा समस्या थपिँदै गएको छ । महानगरका प्रमुख शाक्यले प्रतिवेदनबारे कार्यपालिका बैठकमा छलफल गरी अगाडि बढाइने जानकारी दिए ।

उनले बसपार्कको समस्या महानगरपालिकाको मात्रै नभई प्रदेश र संघीय सरकारको पनि समस्या भएकाले सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि