असोज ०६, २०८१, आइतबार
               

एमसीसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाडेर कब्जाको घोषणा

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-९ रातमाटेमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का लागि अधिग्रहण गरिएको करिब ४०० रोपनी जग्गा कब्जामा लिएको दुई समूहले घोषणा गरेका छन् ।

स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर ४०० रोपनी जग्गा कब्जामा लिएको घोषणा गरेका छन् ।

शनिबार अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले बताए । अध्यक्ष नेपालले 'एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने' चेतावनीसमेत दिएका छन् ।

अध्यक्ष नेपालका अनुसार कार्यक्रममा स्थानीय अधिग्रहण पीडितहरुले आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको दुखेसो गरेका थिए ।

शनिबार भएको प्रदर्शनमा ४०० रोपनी जमीनमा नारा जुलुससहित एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए । 

एमसीसीले सो स्थानमा जग्गा अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाक धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरूले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनुपर्ने नेपालले बताए ।

सो स्थानमा प्रतिकारका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ५०० सदस्यीय एमसीसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरेको छ ।

स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीले नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेश बनाउने चाल रचेको आरोप लगाएका थिए ।

एमसीसी सम्झौता नेपालको संसदबाट पारित नहुँदै कार्यान्वयनमा गइसकेको छ । यही क्रममा ट्रान्समिसन लाइन निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा एमसीसी नेपालले जग्गा अधिग्रहण कार्य अघि बढाएको हो । 


कस्तो लाग्यो ?

यो पनि