जेठ ०१, २०८१, मंगलबार
               

दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति जनाए । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएको घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिवारलाई रोजगारी दिन तथा त्यहाँका सबै क्षेत्रमा तत्काल पुल निर्माण गरी असुरक्षित यात्राको अन्त्य गर्न माग गरे । उनले दार्चुला–तिंकर सडक यथाशीघ्र निर्माण गर्न पनि माग गरे ।

कांग्रेसका अर्का सांसद डा डिला सङ्ग्रौलाले गोरखा सैनिक न्याय माग्दै बेलायतमा आमरण अनशनमा बसेको जानकारी गराउँदै उनीहरूकाे जीवनरक्षाका लागि कूटनीतिकरूपमा पहल गर्न सरकारसँग आग्रह गरिन् । सोही पार्टीका सांसद दिव्यमणि राजभण्डारीले अनियमिता र भ्रष्टाचार नियन्त्रणमा लागि विशेष समिति बनाई छानबिन गरेर कारबाही गर्न माग गरिन् ।

कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ऐतिहासिक धरहरा उद्घाटन भयो, तर चढ्न पाइन्न, मेलम्ची खानेपानी उद्घाटन भयो तर खान पाइन्न, अपर तामाकोशी उद्घाटन भयो तर बत्ती बाल्न पाइन्न, सुस्ता सुस्ता चर्चा चल्छ तर झोलुङ्गे पुलबाट हिँड्न पाइन्न, त्रिवेणीधाम बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल शिलान्यास भयो तर छ वर्ष हुँदा पनि पुल हेर्न पाइएन भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले कोभिड–१९ ले नेपाल–भारत सीमा बन्द छ, तर मान्छे आवतजावत भइरहेको भन्दै आपत्ति जनाए । अर्का सांसद पुष्पा भुषालले गौतम अर्घाखाँचीको कारागारमा अधिकांश कैदीबन्दीमा कोरोना देखिएकाले सरलरूपमा उपचार व्यवस्था मिलाउन र खुला कारागारको अवधारणा लागू गर्न माग गरिन् ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले बाढीपहिरोबाट नागरिकको जीउधन रक्षा गर्न माग गरिन् । अर्का सांसद टेकबहादुर बस्नेतले बजेटको उचित प्रयोग र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद दुर्गाबहादुर राउतले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकासहित विभिन्न क्षेत्रमा विपद्बाट घरबारविहीन भएकालाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरे । जनअनुमोदित सरकारले जनतको काममा ढिलाइ गर्न छुट नभएको पनि उनले बताए । 

सोही पार्टीका अर्का सांसद देवेन्द्र पौडेल मध्यपहाडी लोकमार्गको बागलुङदेखि घोडाबानेसम्मको बाटो चार वर्षसम्म पनि नबनेर हिलाम्मे भएको जानकारी गराउँदै धेरैपटक संसद्मा बोलेको र मन्त्रालय धाउँदा पनि सम्बन्धित पक्षको ध्यानाकर्षण हुन नसक्नु विडम्बना भएको बताए । उनले गत वर्ष ढोरपाटनमा आएको बाढीबाट क्षति पुगेका पूर्वाधार निर्माण गर्न पनि सरकारसँग माग गरे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताताको छानबिनको माग गरे। जनता समाजवादी पार्टीका सांसद दिलकुमारीले कोभिडका कारण सीमा क्षेत्र बन्द भए पनि तस्करीका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराइन् । उनले सर्वसाधारण जनताले सास्ती खेपिरहेकाले प्रदेश नं २ का सबै सीमा खुला गर्न आग्रह गरिन् ।
 


कस्तो लाग्यो ?

यो पनि