असोज ०६, २०८१, आइतबार
               

व्यावसायिक खोर्सानी खेतीमा प्रधानाध्यापक

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा कमै मात्रमा आवद्ध हुन्छन् । प्राय: सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन् । घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन्।

२०० रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा खोर्सानी खेती गरेका प्रधानाध्यापक आचार्यले एक करोड आम्दानी हुने अनुमान गरेको छ ।

यसैगरी चालिस रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक सात लाख र  गोलभेँडा खेती तथा कुखुरापालन व्यवसायबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । परिवारको सहयोगका कारण शिक्षण पेशासँगै कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरेका हुन् ।

प्रधानाध्यापक आचार्य र कृष्ण भट्टराईद्वारा सञ्चालित त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फार्मको सो खोर्सानी खेतीले सबैको मन लोभ्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वन एकाइको चक्लाबन्दी कार्यक्रमबाट उक्त खेतीका लागि सहयोग मिलेकाले बाँझो जमिनमा व्यावसायिकरूपमा खेती गर्न थालिएको प्रधानाध्यापक आचार्यको भनाइ थियो । परियोजनाको सहयोगका कारण पहाडको भिरालो जमिनलाई उत्पादनशील बनाउँदै आम्दानीको स्रोत बनाउने प्रयास गरिएको उनले बताए । 

“शिक्षित तथा अशिक्षित युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन् । गाउँमा बाँझो खेतबारीमा लाखौं आम्दानीको सम्भावना छ”, प्रधानाध्यापक आचार्यले भने, “आउनुहोस् सँगै मिलेर कृषिमा काम गरौँ, स्वरोजगार बनौँ र  रोजगारीका अवसर सिर्जना गरौँ ।”

परम्परागत अन्नबाली धान र मकैखेतीबाट प्राप्त आम्दानी कम हुने भएकाले सो व्यवसाय छाडेर व्यावसायिकरूपमा खोर्सानी खेतीमा आकर्षण बढेको हो । रैथाने अन्नबाली उत्पादनमा बढी श्रम खर्चिनुभन्दा सयौँ गुणा बढी फाइदा हुने, बाँदरलगायत वन्यजन्तुबाट नोक्सानी न्यून हुने यस खेतीप्रति आफू आकर्षित भएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि