असोज ०६, २०८१, आइतबार
               

प्रदेश युवा परिषद्ले पूर्णता पायो

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

बागमती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई आज शपथ ग्रहण गराए ।

सामाजिक विकासमन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने परिषद्मा यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो । मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र आज नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पुर्‍याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ । मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आजै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि