दमौली । २७ औँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।
२६ दिन कैद तोकिएका प्रतिवादी पक्राउ
जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र दुई हजार २०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।