जेठ ०७, २०८१, सोमबार
               

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।

नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक अपिलमा वर्षातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्तो काममा नलाग्न भनिएको छ । साथै,  बाढी प्रभावित नागरिकलाई गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले जनाएको छ ।

गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलबार जारी अपिलमा भनिएको छ ।

बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।

ग्याँस, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख अर्यालले जानकारी दिए ।

हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि