काठमाडैं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन भइरहेको बताएका छन् ।’
साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको प्रहरी प्रवक्ता कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुन शाखाका कर्मचारीले प्रश्नपत्र बनाएर परीक्षा लिए सोही शाखालाई छानबिनको जिम्मा दिएका छन् । ‘स्वच्छ छानबिन हुनेमा शङ्का लागेको छ’ परीक्षामा सहभागी एक जना प्रहरी अधिकृतले भने ।
युएनको अनपोल मिसनमा जानका लागी प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।