जेठ ०७, २०८१, सोमबार
               

हेलम्बु बाढी : रातो पुल बगायो, रेडियो मेलम्चीको भवन ढल्यो

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७:४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै, बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

यता, बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२:४० बजेतिर बाढीले भवन बगाएको जानकारी दिए । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि