असोज ०६, २०८१, आइतबार
               

फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगरे हुन्छ : नेपाल

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले यस्तो बताएका हुन् । 

अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, -‘फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । जे गर्नुछ पारदर्शी रूपमा गरोस् ।'

ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो । उनले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए ।

उनले अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए । आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए । ‘तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं,’ उनले भने, ‘हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।’

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए । ‘म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो,’ उनले भने ।

सर्वोच्च अदालतले गलत काम सच्चाएको स्मरण गर्दै उनले अहंकारले मान्छेलाई पतनको बाटो डोहोर्‍याउने बताए । कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन् ।


कस्तो लाग्यो ?

यो पनि