असोज ०५, २०८१, शनिबार
               

बुद्ध ज्ञानमाला भजन नेपाल भाषा र नेवार बस्तीमा मात्रै सीमित गर्नुहुन्न : प्रमुख शाक्य

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध ज्ञानमाला भजनलाई नेपाल भाषामा मात्र सीमित नराखी स्थानीय मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद गरेर त्यसको महत्वलाई अझ फराकिलो बनाउनु पर्नेमा जोड दिएका छन् । काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ‘हामीले यसो हेर्दा नेवारहरू मात्र बुद्ध धर्म मान्ने, नेवार भाषा बोल्नेहरू मात्र बुद्ध धर्म मान्ने जस्तो लाग्नसक्छ । तर त्यस्तो होइन, अरु भाषा बोल्नहरू पनि बुद्ध धर्ममा छन्,’ उनले भने, ‘हामीले अहिले नेपाल भाषामा नेवार बस्ती भित्र मात्रै ज्ञानमाला भजन गाइरहेका छौं । यदि बाहिर कुनै गैरनेवार बस्तीमा कोही ज्ञानमाला भजन गाउने छन् भने हामीले सहयोग गर्ने हो कि ?’ 

शाक्यले आफूले ग्रहण गरेको ज्ञान अरुलाई राम्ररी सुनाउन सक्ने, प्रवचन दिन सक्ने अनुयायी भएको पनि बताए ।  उनले गैर नेवार भाषामा पनि ज्ञानमाला पुस्तक निकाल्ने हो कि भन्दै त्यसको यसको नेतृत्व गर्न महानगरपालिका तयार रहेको पनि बताए । ‘यसका लागि हामीले सहयोग गर्न सक्छौं,’ उनले भने, ‘जहाँ जुन भाषाको बाहुल्यता छ, त्यहाँ त्यही भाषामा ज्ञानमाला गाउन हामीले सहयोग गर्न सक्छौ ।’  
उनले ज्ञानमाला, बुद्ध धर्म भनेको नेवारहरूको मात्र नभई सबैको भएको पनि स्मरण गराए ।  ‘बुद्धका अनुयायीहरू सबै छन्, हरेक विहारमा हेर्‍यौं भने हामीले बुद्धमूर्ति सहित दायाँबायाँ अर्को  दुइटा मूर्ति पनि देख्न सक्छौं, मौद्गल्यान्ड र सारिपुत्रको मूर्ति । हामीले यी मूर्तिलाई पनि देउता भनि पुज्छौं, उहाँहरू पनि हामी जस्तै बुद्धका अनुयायी हुन् ।’

भगवान सबैका हुन भन्दै उनले भगवानको जात नहुने बताए ।  ‘भिक्षुहरूलाई हेरौं उहाँहरूको कुनै जात हुँदैन । हामीले उहाँहरूको जात कहिल्यै सोध्दैनौं,’ उनले भने, ‘भिक्षु भइसकेपछि उहाँहरूको नाम पनि परिवर्तन भइसकेको हुन्छ । हामीले उहाँहरूलाई सम्मान गर्ने हो, बन्दना गर्ने हो । कोही भिक्षु कहाँबाट आएको हो, कस्को छोरा वा छोरी हो, कुन जातको हो, कुन परिवारको हो भनेर सोध्दैनौं । त्यस्तै हामीले ज्ञानमालालाई पनि अन्य विभिन्न भाषामा लानुपर्छ ।’ 

सोही कार्यक्रमलाई सम्वोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले आफूहरू संस्कृति संरक्षणमा लागिरहेको बताए ।  ‘पहिला–पहिला हरेक कामको गुथि हुन्थ्यो, हरेक गुथिको आयस्ताको लागि जग्गा जमिन हुन्थ्यो । त्यसैले संस्कृति संरक्षणको आवश्यक हुँदैनथ्यो,’ उनले भने, ‘तर अहिले धेरै गुथिको जग्गा जमिन हराएको छ, मासिएर गएको छ, कहाँ गयो पत्तो नै नभएको स्थिति छ । त्यसैले यस्ता गुथिहरूको आयश्रोत पनि मासिसकेको छ । त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ 

उनले पहिला–पहिला हरेक ठाउँमा आगम घर, आखा छेँ, त्वाः छेँ रहने गरेको भए पनि अहिले जमिन सबै हराइसकेकोले ती सम्पदाहरू जिर्णोद्धार नै हुन नसकिरहेको बताए । ‘हामी महानगरपालिकामा आइसकेपछि बहाःबही, विहार, आगम घर जस्ता सम्पदाहरू पुनर्निर्माण गर्ने नीति लिएका छौं,’ उनले भने, ‘यस्तो सम्पदा जीर्णोद्धार गर्नु पर्ने भए हामीलाई भन्नुस् भनिरहेका छौं । अहिले पनि धेरै ठाउँमा विहार, बहाःबही, आगम घर जिर्णोद्धार कार्य पनि गर्दै आइरहेका छौं ।’ 

उनले इन्द्रजात्रामा देखिइने किलागलको देवी नाच गुथिले जग्गा किनेपछि महानगरपालिकाले भवन बनाइदिएको स्मरण गराए । त्यस्तै ज्याथाको प्रजापति खलः, फसिगां, मखन टोल, त्वाःखलः ओमबहाःकाहरूले जग्गा किनेपछि महानगरले भवन बनाइ दिएको पनि उनले स्मरण गराए ।  
१९९४ सालमा स्थापित ज्ञानमाला भजन खलःले आफ्नो स्थापनाकालदेखि नै स्वयम्भूमा भजनलाई निरन्तरता दिँदै आएको छ ।राणाशासनदेखि लोकतान्त्रिक शासनसम्मको यात्राको साक्षी खलःले विभिन्न राजनीतिक उतारचढावमा पनि निरन्तर भजन गर्दै आएको छ ।
सम्बोधनका क्रममा कामपाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले भजनघरमा २०७६ सालमा भएको आगलागीको घटना सम्झँदै सो समयमा पनि कामपाले सक्दो सहयोग गर्ने प्रयास गरेको स्मरण गरे । सोही कार्यक्रममा रामघाटका देवकाजी महर्जनको परिवारले भजनलाई प्रदान गरेको बुद्ध मूर्तिको समेत अनावरण गरिएको थियो । २ लाख ३४ हजारको लागतमा बुद्धमूर्ति निर्माण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि