असोज ०५, २०८१, शनिबार
               

सुजिता मृत्यु प्रकरण : हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार काठमाडौंबाट सचिन भन्ने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका झापा जिल्ला झापा गाउँपालिका –६, शरणामतीका २३ वर्षीय भण्डारी नातामा सुजिताका दाइ पर्ने प्रहरीको भनाइ छ ।

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रक्राउ परेका भण्डारी सुजिताको आफ्नै ठूलोबुबाको छोरा भएको खुल्न आएको छ । उनीहरूबीचमा ‘प्रेमसम्बन्ध’ रहेको प्रहरीकोे अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानका क्रममा दाजुबहिनी नाता पर्ने सुकदेव भण्डारी र सुजिता भण्डारी काठमाडौं गई छुट्टै एकसाथ बस्ने योजना बनाएको देखिएको प्रहरीले बताएको छ ।

‘दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौं गई केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाएपछि दुवै जना सँगै बसेका पनि रहेछन्,’ अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने, ‘लामो समयको एकअर्काप्रतिको प्रेम सम्बन्धपश्चात् सामाजिक तथा नैतिक कठिनताले एकअर्कासँग विवाह गरी सम्भव भए सँगै विदेश जाने र नभए अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासम्म बनाएको दखिएको छ ।’

गत ९ असारमा सुजिताले सचिनलाई विवाह गर्न प्रस्ताव गरेकी थिइन् । सो विषयमा विवाद हुँदा सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले ‘जे गर्छेस् गर् भनेको’ पनि अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

त्यसको दुई दिनपछि गत असार ११ गते बिहान ६ बजे साथीको घर जान भनी निस्केकी सुजिता भण्डारी अपरिचित व्यक्तिहरूद्वारा अपहरण भएको भन्दै इलाका प्रहरी कार्यालय भण्डारामा परिवारले जाहेरी दिएका थिए । सुजिता बेपत्ता भएको ९ दिनपछि राप्ती ३ कै सामुदायिक वनमा शव फेला परेको थियो । छिमेकी गाउँ धमिलीका चेपाङले जंगली च्याउ टिप्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलीले घटनास्थलनजिक धानमा लाग्ने कीरा मार्न प्रयोग हुने विषको बोत्तलसमेत फेला पारेको थियो । त्यसबाहेक प्रहरीले सुजिताले प्रयोग गर्दै आएको मोबाइल बिनासिमकार्ड फेला पारेको थियो ।

टिचिङ अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टमा सुजिताको मृत्युको प्रस्ट कारण खुलेका थिएन । सुजिताको मृत्युको थप कारण खोज्न  भिसेरा परीक्षण गरिएकोमा रिपोर्ट अझै आइपुगेको छैन ।


कस्तो लाग्यो ?

यो पनि