असोज ०५, २०८१, शनिबार
               

फ्ल्यास सञ्चारको प्रबन्ध निर्देशकमा थापा र प्रमुख कार्यकारीमा तामाङ

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

फ्ल्यास सञ्चार प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा पत्रकार एवं मिडिया व्यवस्थापक सीता थापा आएकी छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा मुना तामाङ नियुक्त भएकी छन् ।

धनकुटामा जन्मेर हाल काठमाडौं बस्दै आएकी थापा १२ वर्षदेखि मिडिया क्षेत्रमा आबद्ध छिन् । रेडियोबाट पत्रकारिता थालेकी थापाले विराटनगरको मकालु टिभीबाट टेलिभिजन पत्रकारिता सुरु गरेकी थिइन् । उनी पछिल्लो समयमा प्राइम टाइम्स टेलिभिजन नेटवर्क प्रालिको समाचार प्रस्तोताको रूपमा कार्यरत थिइन् । उनीसँग अनलाइन मिडियाको समाचार विभाग तथा व्यवस्थापकको समेत अनुभव छ । उनी चिनारी मिडिया प्रालि र चिनारी पोस्ट डट कमको सञ्चालकसमेत थिइन् ।

त्यसैगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तामाङ सूचना प्रविधिको क्षेत्रमा दक्खल राख्छिन् । व्यवस्थापनको विद्यार्थी तामाङ बजार एवं अर्थ व्यवस्थाबारे रुचि राख्छिन् ।

कम्पनीले उद्यमी एवं समाजसेवी ज्ञानु तामाङ माङ्बालाई कर्पोरेट एडभाइजरमा नियुक्त गरेको छ । पत्रकारितामा स्नातक उनी पवित्रा प्याल्डोर समाज काठमाडौंको कार्यकारी सदस्य हुन् । त्यस्तै उनी धादिङस्थित प्याल्डोर कृषक समूहको सचिव हुन् । नेपाल सिर्जनशील तामाङ महिला संघ काठमाडौंको कार्यकारिणी सदस्यको रूपमा उनी सामाजिक रूपान्तरण, स्वावलम्बन एवं महिला सशक्तीकरणको क्षेत्रमा पनि क्रियाशील छन् ।

प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत र कर्पोरेट एडभाइजरलाई कम्पनीले आज शुक्रबार एक समारोहबीच स्वागत गरेको छ । ज्ञानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा फ्ल्यास सञ्चार प्रालिका अध्यक्ष अर्जुन खड्काले उनीहरूलाई स्वागत गरेका थिए । 

कम्पनीले आजै आफ्नो आइटी विभाग पनि घोषणा गरेको छ । आइटी विभागले नेपाल फ्ल्यासलाई प्रविधिमैत्री बनाउने छ । साथै कम्पनीको तर्फबाट वेबसाइट, सफ्टवेयर, मोबाइल एप निर्माण तथा सूचना प्रविधिसम्बन्धी काम गर्ने छ । सँगसँगै कम्पनीले वृत्तचित्र निर्माण र विज्ञापन उत्पादन सम्बन्धी अर्को युनिट पनि घोषणा गरेको छ ।

यो घोषणासँगै फ्ल्यास सञ्चार प्रालिसँग अब तीनवटा युनिट रहने छन् । प्रालिको मिडियाको रूपमा मल्टिमिडियासहितको नेपाल फ्ल्यास डट कम अनलाइन रहने छ ।अर्को युनिटले आइटी सम्बन्धी सेवा दिनेछ भने तेस्रो वृत्तचित्र एवं विज्ञापन उत्पादन सम्बन्धी हुने छ । 

कम्पनीका अध्यक्ष खड्काले पछिल्लो कदमबाट फ्ल्यास सञ्चार प्रालि र नेपाल फ्ल्यास दुवै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष खड्काले कम्पनीमा 'थ्री-आर' योजना लागू गरिएको जानकारी गराए । थ्र‍ी-आरमा रिलञ्जिङ तथा रिब्रान्डिङ, रिफर्म र रिनोभेसन रहेको उनले जनाए ।


कस्तो लाग्यो ?

यो पनि