बैशाख १७, २०८१, सोमबार
               

६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

चितवनको कोराकका एक चेपाङले ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पर्‍यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उनका पश्चाताप र नैराश्यतामा बितेका छन् ।

पुर्ख्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ परे । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किएका प्रजाले आफ्नै घरमा व्यवसाय थालेका छन् ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उनको निवासमा पुग्दा उनी काममा व्यस्त थिए । घरमै मदिरा पसल सुरु गरेका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उनका आँखा आँशुले रसाएका थिए । विगतको जेलजीवन र त्यसपछिका उहाँका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उनले भने, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

यसो त उनी ६० हजार पाउने लोभमा फसे । घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उहाँ निकुञ्ज पुगे । तस्कर टोलीको भरियाको काम उनले गरे । काम फत्ते भएमा ६० हजार पाउने लोभ उनलाई दिइयो । उनले दुई पटक गरेर १५ हजार मात्रै पाएको बताउछन् । त्यही बीचमा वि सं २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उनको भनाइ छ ।

पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सकेनन् । दुई महिनाको आवतजावतपछि ठोरीबाट उनी पक्राउ परे । विसं २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उनले भने, “रासन पानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउछन् ।

त्यति बेलाको ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उनको भनाइ छ । आँखाभरी आँशु पार्दै उनले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाए । बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छद्दै गर्दा निकुञ्जमा चार लाख जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा नौ लाखभन्दा बढी सक्किएको उनको भनाइ छ । उनले भने, “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।” 

जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उनले गुनासो गरे । “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्”, उनले गुनासो गर्दै भने “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।”
 


कस्तो लाग्यो ?

यो पनि