असोज ०६, २०८१, आइतबार
               

चेपाङहरु पहिरोका कारण समस्यामा

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

चितवन । लगातारको वर्षाले चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ र १३ का चेपाङहरुको बारीमा पहिरो खस्यो । पहिरोले घरसमेत बगाउँदा मानवीय क्षतिसमेत व्यहोर्नुपर्यो । कतै खानेपानीको पाइप नै बगाएको छ । मकै पाक्ने बेलामा पहिरोले पुरेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले चेपाङहरुलाई सताउन थालेको छ । भएको अन्नपात सखाप बनाएपछि कसरी परिवारको लालनपालन गर्ने भन्नेमा सानुमाया चेपाङ जिल्ल परेकी छन् ।

६ महिना अनिकाल र ६ महिना सहकाल व्यहोर्दै आएका यहाँका चेपाङहरु गत वर्षदेखिको कोरोना महामारी र विभिन्न समयको लकडाउनले टाढा टाढा काम गर्न जान नपाउँदा समस्या परेका छन् ।

राप्ती १३ का वडाअध्यक्ष सूर्यबहादुर प्रजाका अनुसार कोरोना र लकडाउनले उकुशमुकुश अवस्थामा जेनतेन जंगलको कन्दमुल खाएर पेट पाल्दै आएका उनीहरु अहिले भएको अन्नपातसमेत बगाएपछि संकटमा परेका छन् ।

साउने संक्रान्तिमा चामलकै भात खानुपर्ने पुर्खादेखिको मान्यता चेपाङ समुदायमा छ ।  तर, खाद्यान्नसमेत सकिएको अवस्थामा यहाँका चेपाङहरु पहिरोसमेत शत्रु बनेपछि थप बिलखबन्दमा परेका छन् ।

गामवेशी चेपाङ संरक्षण केन्द्रको समन्वयमा नेपाल हेल्प नामक संस्थाले १२ र १३ का झण्डै ३ सय ५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको संस्थाका कार्यकारी दिर्नेशक कृष्ण ढकालले बताए । खाद्यान्न सहयोग पाउने भएपछि यहाँका चेपाङ समुदायमा राहतले केही खुसी भने थपेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि