बैशाख २४, २०८१, सोमबार
               

बढ्दो बलात्कार शृङ्खला, दैनिक सरदर ६ घटना
यस कारण हुन्छ बलात्कारपछि हत्या प्रयास

ADVERTISEMENT

दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो सङ्ख्या करिब २२ सय पुगेको छ । अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा करिब ११ गुणा बढेको छ । 

बालिका, युवती, एकल महिला, वृद्धा सबै बलात्कारको सिकार भएको घटना प्रत्येक दिन समाचार बनेका छन् । अचेल सरदर दैनिक रूपमा ६ जना बलात्कार पीडितको मुद्दा प्रहरीमा दर्ता हुँदै आएका छन् । अझै कतिपय घटना डर, त्रास, धम्की र प्रभावका कारण गुपचुप रहन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०–२०७१ मा ९ सय ५ वटा घटना प्रहरीमा दर्ता थियो । २०७१–७२ मा केही बढेर ९ सय ८१ घटना दर्ता भए । २०७२–७३ मा १ हजार ९३ हुँदै २०७३–७४ मा १ हजार १ सय ३७ घटना प्रहरीमा दर्ता हुन आए । २०७४–७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ । त्यो सङ्ख्या २०७५–७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको थियो । २०७५–२०७६ वर्षमा बालिका ८ जना र महिला ३ जना गरी ११ जनाको त बलात्कारपछि हत्या नै भयो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ०७६–०७७ मा बालिकादेखि ५५ उमेर समूहका २ हजार १ सय ६७ जनाको बलात्कार भएको थियो ।  चालु आर्थिक वर्ष २०७७–७८ को ११ महिनामा सो सङ्ख्या बढेर २ हजार ३ सय ४९ पुगेको तथ्याङ्क छ । ४ वर्षको अवधिमा १८ जनाको बलात्कारपछि हत्या भएको छ । त्यसमा आधा बढी बालिका छन् । 

पछिल्लो दशकमा बलात्कारपछि हत्याका घटना अत्याधिक बढेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन् । ‘बालिका, युवती, एकल महिला, वृद्धा सबै बलात्कारको सिकार भएको प्रत्येक दिनको घटना नै हुने गरेको छ । अझ कतिपय प्रहरीसम्म नआई मेलमिलाप समेत भएका छन् । पछिल्लो ४ आर्थिक वर्षयता यस्ता घटना बढेका देखिन्छ ।’ 

वसन्त कुँवर, केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी

अझै कोभिड–१९ को महामारीमा पनि बलात्कारजन्य अपराध बढेका छन् । नातेदार, चिनजानका वा संरक्षकत्वमा रहेका महिला तथा बालिकाको बलात्कार भएको आरोपका उजुरी बढेका छन् ।

बलात्कार पछि किन हुन्छ हत्या ?

बलात्कारको घटनामा संलग्न व्यक्ति अपराधको ज्युँदो प्रमाण रहेपछि फस्ने डरले हत्या र हत्या प्रयास गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता  कुँवर भन्छन्  ‘आवेगमा अपराध गर्दा पीडित स्वयं प्रमाण हुने भइहाल्यो, ज्युँदो प्रमाण हुँदा कानुनी दायरामा आउन डरले प्रमाण लुकाउने दुष्प्रयास स्वरूप हत्या गर्छ, कति त सफल हुन्छ, कति असफल हुन्छ ।’

अपराधमा संलग्नले प्रमाण मेटाउन र कारबाहीबाट बच्न थप क्रूरताको बाटो समातेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । उनीहरु भन्छन् ‘पहिला बलात्कार भए पनि उजुरी हुँदैनथ्यो । घटना बाहिर आउँदैनथ्यो । र अहिले अपराध ढिलो–चाँडो सार्वजनिक हुने डरले प्रमाण मेट्न  हत्या र हत्या प्रयासजस्तो क्रूर बाटो रोजेको देखिन्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि