जेठ ०५, २०८१, शनिबार
               

मध्य-मर्स्याङ्दीको प्रसारण लाइन अवरुद्ध, खुलाउन पहल सुरु

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

लम्जुङ्गस्थित मध्य–मर्स्याङ्दी जलविद्युत आयोजनाको टावर ढलेपछि प्रसारण लाइन अवरुद्ध भएको छ । सरकारी लगानीको मध्य–मर्स्याङ्दी जलविद्युतलगायत निजी क्षेत्रका सगरमाथा र खुदी जलविद्युत कम्पनीबाट उत्पादित विद्युत्समेत राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । सबै आयोजनाको गरी करिब १२५ मेगावाट विद्युत् प्रसारण ग्रिडबाट विच्छेद भएको हो ।

असार १९ गते बिहान आएको पहिरोले मध्य–मर्स्याङ्दी जलविद्युत आयोजनाको १३२ केभी क्षमताको  टावर ढालेको हो । टावर पुन:निर्माण गर्न झन्डै  तीन महिना लाग्ने अनुमान गरिएको छ ।

टावर नबन्दासम्म उक्त कोरिडोरबाट उत्पादित विद्युत् ग्रिडमा जडान गर्न सकिने छैन । सो समयसम्म दैनिक करोडौँ रुपैयाँ बराबरको आर्थिक नोक्सानी हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सो क्षति भने आफूहरूले नै बेहोर्दिनुपर्ने निजी जलविद्युत कम्पनीले जनाएका छन् । 

टावर ढलेको स्थानमा भने नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरी तत्काललाई विध्युत आपूर्तिलाई पुन: सञ्चालन गर्ने काम सुरु गरिएको नेपाल विध्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले जनाएको छ ।

महाशाखा प्रबन्धक माधव पौडेलले भने ‘विगतमा रक्सौल-परवानीपुर १३२ के भी प्रसारण लाइनको टावर हावा हुरीले ढालेको थियो । मुडभरी एण्ड जोशी कम्पनीले चार दिनमै विद्युत् आपूर्ति सञ्चालन गराएको थियो । अहिले पनि तत्काललाई विद्युत आपूर्ति गराउन त्यही प्रक्रिया अपनाउँदैछौं ।’

आपतकालिन समयमा विध्युत आपूर्ति गराउन अनुभवी मानिएका ठेकेदार कम्पनी मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई साथमा लिएर बिहीबारबाटै काम थालिएको प्राधिकरणले जनाएको छ ।

मुडभरी एण्ड जोशी कम्पनीका प्राविधिक एवं कामदार टावर ढलेको स्थानमा पुगेर निमार्ण प्रक्रिया सुरु गरिसकेका छन् । सो कन्स्ट्रक्सनका कन्स्ट्रक्सनका प्रतिनिधि केदारकुमार फुयाँलका अनुसार टावर ढलेको स्थान मोटर बाटोबाट करिब दुई घण्टाको पैदल दुरीमा छ ।

त्यहाँसम्म जाने बाटो बिग्रेको हुनाले सामान ढुवानी गर्न समेत चुनौतीपूर्ण छ । आवश्यक जनशक्ति प्रयोग गरी सामानहरू पुराउन सुरु भएको प्रतिनिधि फुयाँलले बताए । शुुक्रबारसम्म सम्पूर्ण सामान पुराउन सकिएमा आउँदो सोमबारसम्म विध्युत लाइन राष्ट्रिय प्रसारण ग्रिडमा जोडन सकिने आशा गरिएको छ । मुडभरी एण्ड जोशी कम्पनी जलविद्युत सम्बन्धी सम्पूर्ण काम गर्ने अग्रणी कम्पनी हो ।


कस्तो लाग्यो ?

यो पनि