चितवन । चितवनकी युवती सुजिता भण्डारीको मृत्युको विषयलाई प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूआदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार आज (मंगलबार) २२ गते साँझ ७:३० बजेदेखि भोलि (२३ गते) बेलुकी ७:३० बजेसम्म कर्फ्यू लगाइएको हो ।
स्थानीयले गरेको आन्दोलन मत्थर पार्न कर्फ्यूआदेश जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो ।
कर्फ्यूका क्रममा लामोदुरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवातजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृतिबेगर बाहिर निस्किन पाउने छैनन् ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले आदेशको अवज्ञा गरे गराएमा तत्कालै गिरफ्तारी गरेर १ महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुनसक्ने बताए ।
गत असार ११ गतेदेखि बेपत्ता सुजिताको शव २० गते घर नजिकैको सामुदायिक वनमा फेला परेको थियो ।
उनको शवलाई पोष्टमार्टमका लागि लिएर आउने क्रममा स्थानीयले राप्ती–३ झुरझुरेमा करिब ८ घण्टा सडक अवरुद्ध गरेका थिए ।
घटनाको निष्पक्ष छानविन हुनुपर्ने, दोषिलाई कडा कारवाही हुनुपर्ने मागसहित आज दिउँसो ३ बजेदेखि राजमार्गमै बसेर स्थानीय र अधिकारकर्मीले नाराबाजी गरेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् ।