बैशाख २३, २०८१, आइतबार
               

म्याद गुज्रेका सयौँ औषधि नष्ट

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिबिना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ । 

यहाँका मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ । त्यस्तै विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र  औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ ।  स्ट्रेराइल डाइलुएन्ट, मारेक र  इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ । ड्रेग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ । 

राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टरलगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिष्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ । अनुगमनको क्रममा अधिकांश चश्मा पसलले चश्माको सिसा, फ्रेमको खरीद र बिक्री मूल्यमा धेरै फरक गरी उपभोक्ता ठगेर धेरै नाफा लिएको, मूल्यमा एकरुपता नभएको, चश्मा पसलले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिई सञ्चालन गरिएको र  औषधि विभागको अनुमति नलिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । 

लक्ष्मी अप्टिकल र भक्तपुर लक्ष्मी अप्टिकलले जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नलिइएको, नगरपालिकामा दर्ताविना नै अवैध रुपमा सञ्चालन गरिएको, चश्माको मूल्यसूची नराखिएको, जथाभावी मूल्य लिइएको, खरीद बिल नदेखाइएको र नाफा धेरै लिई बिक्री गरी ग्राहकलाई ठगेकोे पाइएको उनले जानकारी दिए ।

भक्तपुर अप्टिकल, ओरिएन्टल अप्टिकल एण्ड फार्मेसी र मोडेल अप्टिकलले तालीम नलिएका जनशक्ति राखेको, जथाभावी मूल्य लिएर ठगी गरेको र पसल नवीकरण नगरेको पाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि