चैत १६, २०८०, शुक्रबार
               

जोरबिजोर प्रणाली हटेको पहिलो दिन सवारी चाप न्यून

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन ।  सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए । विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौं उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो ।

आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासङ्घले आपत्ति जनाउँदै आएको छ । लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन् । यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना सङ्क्रमण अझ बढ्ने महासङ्घको ठम्याइ छ । 

सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्य बताउछन् । सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउछन् । सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन् । आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्याङ्क भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि