टीकापुर । टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ भएको छ । जेठमा नै अक्सिजन प्लान्ट स्थापनाको सम्झौता भए पनि अहिलेसम्म प्लान्ट स्थापना भएको छैन ।
अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालसित सम्झौता गरेको हेल्थ केयर सप्लायर्स शंखमूल नयाँ बानेश्वर काठमाडौले समयमा काम नगर्दा म्याद थप गरिएको थियो । थप म्यादमा पनि काम नभएपछि प्रदेश मन्त्रालयमा जानकारी गराइएको टीकापुर अस्पतालका प्रमुख डाक्टर रेमकुमार राईले बताए ।
‘प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवले अक्सिजन प्लान्ट स्थापना हुने कुरामा नआत्तिन भनेका छन् । यो आर्थिक वर्षमा नभए पनि अर्को आर्थिक वर्ष (साउन/भदौ) मा पनि भुक्तानी गरिदिने भनेका छन्,’ डा. राईले भने, ‘कोभिड–१९ महामारीका कारण सप्लायर्सले समयमा प्लान्ट जडानका लागि सरसामान ल्याउन नसकेको जानकारी दिएका छन् ।’
प्रदेश मन्त्रालयको बजेटबाट प्लान्ट स्थापना हुने भएकाले सचिवले नै अर्को आर्थिक वर्षमा पनि भुक्तानी गरिदिने भनेपछि प्लान्ट स्थापना हुने कुरामा आफू आशावादी रहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले टीकापुर अअस्पतालमा अक्सिजन प्लान्टका लागि ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाले पनि १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।