नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले देशव्यापी वृक्षरोपण कार्यक्रम शुभारम्भ गरेको छ।
संघले आज एक कार्यक्रमकाबीच देशव्यापी बृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ को शुभारम्भ गरेको हो । देशव्यापी रुपमा कम्तिमा पाँच लाख बिरुवा रोपी प्रकृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने लक्ष्य रहेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । युवा संघ केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतले गोदावरी नगरपालिका वडा नं २ विशङ्खुको कोटडाँडास्थित भिमेश्वर मन्दिर परिसरमा अमलाको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका हुन ।
त्यस अवसरमा आज विशङ्खुको सो मन्दिर परिसरमा एक हजार २०० भुगोल सुहाउँदो फलफूल तथा औषधीजन्य जडिबुटी रोपिएको थियो । संघले शुक्रबारदेखि सुरु गरेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात २२ दिन निरन्तर अघि बढ्ने योजना बमोजिम ललितपुरभर कूल पाँच हजार बिरुवा रोपिनाका साथै मुलुकभर कम्तिमा पाँच लाख बिरुवा रोपिने भएको संघले जानकारी दिएको छ । प्रत्येक विद्यालय, स्वास्थ्य चौकी, पार्क, सडक, सार्वजनिक संस्थालगायतका क्षेत्रहरुमा विशेष प्राथमिकता साथ फलफुलजन्य वृक्षारोपण गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेता बस्नेतले वृक्षारोपण कार्यले दैनिक जीविकोपार्जन, वातावरण सन्तुलन लगायत खाद्यान्न आपूर्तिको समेत आवश्यकता पुरा गर्दै आएकाले संघ सो कार्यमा अघि बढेको बताए । 'यस कार्यले शहर अनि समाजलाई सौन्दर्य बनाउनुका साथै हरियालीकरण गरी प्राकृतिक संरक्षणमा जोड दिनेछ', नेता बस्नेतले भने । वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व रहदा भइपरी आउने प्राकृतिक विपतीलाई न्यूनिकरण गर्न वृक्षारोपण कार्यले सहयोग गर्ने बताउदै नेता बस्नेतले मानव जीवनको अस्तित्व संरक्षण गर्न वनजङ्गलले अहम भूमिका खेल्ने भएकाले यसलाई संरक्षण तगा संवर्द्धन अनि आधुनिक साथै वैज्ञानिकीकरण गर्दै अघि बढिने भएको बताए ।