बैशाख २६, २०८१, बुधबार
               

भोलिबाट लामो दूरीका गाडी चलाउने व्यवसायीको चेतावनी

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

आन्तरिक हवाई उडान सुरु भएपछि यातायात व्यवसायीले पनि सरकारले अनुमति नदिए पनि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै बन्द भएको आन्तरिक उडान झण्डै दुई महिनाको अन्तरालपछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीका दैनिक ६४ उडान सञ्चालन हुने गरी तालिका बनाएको छ । यससँगै शुक्रवार (असार १८) देखि सरकारले गत वैशाख १६ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। वायुसेवा कम्पनीहरूले जनस्वास्थ्य मापदण्ड पुरा गरी सेवा प्रदान गरेर सेवा दिएझैँ आफूहअरू पनि मापदण्ड पुरा गरेर सेवा दिने व्यवसायी बताउँछन् ।

यातायात व्यवसायीले सरकारले अनुमति नदिए पनि शुक्रवार (असार १८) देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन् । उपत्यकाका तीन वटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ । तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन वटै यातायात मजदुर सङ्गठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात् शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन् ।  

कोरोनाका कारण १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला बताउँछन् । उनी भन्छन् ‘बजारलगायत सबै क्षेत्र खुलिसक्यो । तर सार्वजनिक यातायात मात्रै रोकेर हुँदैन, असार १८ गतेदेखि सडकमा उत्रिन्छौँ। सरकारले जे गर्न मन लाग्छ गर्छ ।’

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राई उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गत असार १४ गते गरेको २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोरबिजोरका आधारमा चल्न दिने गरी गरेको अव्यवहारिक निर्णय सच्याउन माग गर्दै आइरहेको बताए । उनले भने ‘तीन वटै जिल्लाका सिडियोहरूले अव्यवहारिक निर्णय गर्नुभएको छ। त्यसैले तत्कालै सच्याउनुको विकल्प छैन ।’ 

यातायात व्यवसायीले निषेधाज्ञा खुलाएसँगै यातायात मजदुरलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा समेत प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन् । यातायात व्यवसायीले अर्थतन्त्रलाई गतिशील बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने सार्वजनिक यातायात समेत पूर्ण सञ्चालन गर्न माग गरेका छन् । 

यातायात व्यवसायीले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादार कायम गर्न समेत माग गरेका छन् । कोरोनाबाट ज्यान गुमाएका श्रमिक परिवारलाई राहत र सङ्क्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ भन्ने माग सहितको आन्दोलन जारी नै रहने महासङ्घले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि