उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु भएको बताएका छन् । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए ।
उनले भने,–“कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउने छ ।” उपप्रधानमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो भने । उहाँले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गरेका थिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताए । उनले समय बदलीएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटलाइजेसनको महत्व बढेको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए ।