बैशाख २१, २०८१, शुक्रबार
               

छिमेकी जिल्लाको होेटेलबाट गाउँपालिकाको सेवा सुरू

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

गोरखा । गोरखाको धार्चे गाउँपालिकाको कामकाज छिमेकी जिल्लाको एक होटल भाडामा लिएर सुरू गरिएको छ । बाढीपहिरोले स्थानीय लघु जलविद्युत् आयोजना विग्रेको र सडक अवरूद्ध हुँदा गाउँपालिकाको केन्द्र माछीखोलाबाट दैनिक कामकाज सम्भव नभएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित आरूघाट-विशालनगरबाट सेवा सुरू गरिएको हो ।

गाउँपालिकाकी उपप्रमुख फूलकुमारी गुरूङले योजना, प्रशासन, लेखा र आइटी सम्बन्धी शाखाहरू होटलका कोठा भाडामा लिएर सञ्चालन गरिएको बताइन् - ‘यो रहर होइन हाम्रो बाध्यता हो,’ उनले भनिन्, ‘लघु जलविद्युत् अवरूद्ध छ। इन्टरनेट पनि चलेको छैन। पहिरोले सडक पनि अवरूद्ध भयो। कामकाज गर्न सक्ने अवस्था नभएपछि होटलका कोठा एक महिनाका लागि भाडामा लिएर कामकाज सुरू गरिएको छ।’ धार्चे गाउँपालिका आरूघाटभन्दा माथिल्लो क्षेत्रमा रहेको गाउँपालिका हो ।

‘आरूघाटमा कार्यालय खोल्न लागेका थियौं। होटल नै पाइएन,’ उनले भनिन्, ‘धादिङतर्फ होटल खालि रहेछ, एक महिनाका लागि तीन वटा कोठा भाडामा लिएका छौं। कार्यालयको कामकाज र कर्मचारी होटलमै बस्नुहुन्छ।’

‘आर्थिक वर्ष सकिन लागेकोले धेरै योजनाका भुक्तानी दिनुपर्नेछ। गाउँपालिकाको खाता सिभिल बैंकमा छ, सिभिलको शाखा गोरखा सदरमुकाममा छैन त्यसैले आरूघाटमा एक महिनाका लागि कार्यालय खोलेका हौं,’ उनले भनिन्, ‘माछीखोलामा मोबाइल नेटवर्क पनि कहिलेकाहीँ देखाउँदैन। इन्टरनेट पनि टुटेकोले केन्द्रसँग सम्पर्क भएन त्यसैले आरूघाट-विशालनगरमा वैकल्पिक कार्यालय नै खोल्नुपर्ने बाध्यता आइपर्‍यो।’

माछीखोलामा गाउँपालिका कार्यालय छेवैमा सिभिल बैंकको शाखा छ।नयाँ खोलेको कार्यालयदेखि माछीखोलास्थित केन्द्र पुग्न करिब पाँच घण्टा हिँड्नुपर्छ। हिउँदमा माछीखोलासम्म सवारी साधन चले पनि बर्खामा पहिरोले सडक अवरूद्ध छ ।


कस्तो लाग्यो ?

यो पनि