बैशाख २१, २०८१, शुक्रबार
               

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने, यस्ता छन् मापदण्ड

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । मंगलबार (आज) देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने भएको छ ।

कोरोना भाइराको दोस्रो महामारी फैलिएपछि गत वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका तीन जना प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा लागू गर्ने र खाद्यान्न पसल दिनभर सञ्चालन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा अब २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुनेछन् । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ भने खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ९ देखि ११ बजेसम्म र ४ बजे देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने छ ।

सार्वजनिक यातायात चलाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु पर्नेछ भने ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने छ । काठमाडौंमा गाडी खुले पनि बाहिरबाट आउने निजी तथा भाडाका सवारीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

बिरामी तथा अत्यावश्यक काम परेकाहरु पास लिएर मात्र काठमाडौं आउन पाउने प्रशासनले जनाएको छ । सबै खाद्यान्न पसल, खेलकुद सामग्री, स्टेशनरी, पुस्तक पसल साँझ ६ बजेसम्म संचालन गर्न पाइने छ ।

डिपार्टमेन्ट स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट आइटम, सुन पसल, भाँडा तथा विद्युतीय घरायसी सामग्री, इलेक्ट्रोनिक, हार्डवेयर पसल बिहान ११ बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छन् । अत्यावश्यक वस्तुको अनलाइन अर्डर तथा रेष्टुरेण्टले टेक अवे सेवा ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

निजी सवारी साधनमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल, स्कुटरमा जोर बिजोर प्रणाली कायमै राखिएको छ । उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य गर्न पाइने छ ।

निषेधाज्ञा खुकुलो भए पनि प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा बन्देज कायमै राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय,लगायत भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन् । यस्तै सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि गर्न पाइने छैन ।


कस्तो लाग्यो ?

यो पनि