बैशाख १७, २०८१, सोमबार
               

रवि पन्छिए जनमैत्री अस्पतालबाट, नि:शुल्क उपचारको आशामा भर्ना भएका बिरामी भए बन्धक

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

कोभिड सङ्क्रमित बिरामीको उपचारको लागि ‘सरकार नभए पनि हामी छौँ’ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेले अहिले सो अस्पतालमा रहेका बिरामीको सम्पर्कमा नआउँदा दर्जनौँ बिरामीलाई मर्का परेको छ ।

नि:शुल्क उपचारको नाममा रवि फाउन्डेसनको नाममा देशविदशेबाट सहयोग जुटेको र त्यसको हरहिसाबसमेत सार्वजनिक नगरिएको आरोप उनीविरुद्ध लागेको छ ।

पछिल्ला दिनमा अस्पतालमा परिसरमा रवि र उनको समूहको उपस्थिति देखिन छोडेको छ । पहिले अस्पताल प्राङ्गणमा उनको समूह ब्यानर पनि देख्न सकिन्थ्यो । अस्पतालमा सयौँ जनाको उपचार गरिरहेको प्रचार गर्दै आएका रवि र उनको समूह अहिले कसैको पनि फोन उठ्ने नगरेको पीडितहरू बताउँछन् ।

आफूले सहकार्य गरेको जनमैत्री अस्पताललाई फाउन्डेसनको नामबाट एक जानकारी पत्र लेख्दै रविले सहकार्य तोडेको बताएका छन् । तीन महिनाको लागि सहकार्य गर्ने सम्झौता भए पनि रवि लामिछाने एक महिनामै अस्पताल छाडेका हुन् । जेठको अन्तिम साताबाट अस्पताल आउन छाडेका उनले जेठ ३० गते अस्पताललाई पत्र लेख्दै सहकार्य ताडेको जानकारी गराए । पत्रमा रविले तीन सयभन्दा बढीलाई सहयोग गरेको दाबी गरेका छन् । तर अस्पताल प्रशासनले भने त्यो दाबीलाई अस्वीकार गरेको छ । 

हरहिसाब अपारदर्शी

कति आर्थिक सहयोग सङ्कलन भयो र कति खर्च भयो भन्ने हरहिसाब सार्वजनिक नगरी रवि हिँडेपछि आर्थिक अनियमितताको शङ्काको सुई उनीमाथि सोझिएको छ । जनमैत्री अस्पतालकै एक चिकित्सक भन्छन् ‘रविजीले गर्दा अस्पतालकै बदनाम भयो, उहाँले को–कोबाट कति रकम उठाउनुभयो, कुल कति उठ्यो र कति कुन–कुन बिरामीमा खर्च भयो भन्ने पारदर्शिता नै भएन । हामी समेत जोडिएकाले अस्पताल र रवि मिलेर सहयोग रकम खाइदिए भन्ने सन्देश गएको छ ।’

सबै दाताहरूको नाम सार्वजनिक गर्दा उठेको रकम बाहिर देखिने हुँदा रविले यसो गर्न नचाहेको अनुमान छ । उसो त हरेक क्रियाकलाप फेसबुक लाइभबाट जानकारी दिने उनले अस्पताल छाडेको विषयमा मौन छन् । देखावटी रूपमा भने आर्थिक सहयोग दाताहरू र सर्वसाधारणमाझ बिरामीको उपचार आफूले गरिहरेको भ्रम छर्नको लागि उनले यी सार्वजनिक नगरेको हुनसक्ने अनुमान छ । 

पैसा तिर्न नसक्ने बिरामीलाई यातना

‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा भजाउँदै आएका रविले अस्पताल छाडेपछि केही बिरामी अस्पतालमै बन्धक छन् । रवि लामिछाने आफैँले बोलाएर उपचारको लागि आएको बताउने केही बिरामी अहिले पनि बन्धकमै छन् । 

मोरङ केचनाको ४२ बर्से सावित्रा राईलाई अस्पतालले डिस्चार्ज गरेको एक साता बढी भयो । तर चार लाख रुपैयाँ तिर्न बाँकी भन्दै अस्पतालले घर जान दिएको छैन । जेठ १८ मा भर्ना भएकी उनको लागि परिवारले ४५ हजार बुझाएको छ । तर अझै ३ लाख ८८ हजार रुपैयाँ ४ सय १५ रुपैयाँ तिर्नुपर्ने भन्दै अस्पतालले बिरामी बन्धक भएको सावित्राको छोरा मन्जित राई बताउँछन् । ‘पैसा तिर्न नसके ममीलाई आजीवन ट्‍वाइटेल सोहोर्नेमा बस् भन्दै अस्पतालले थकाइरहेको छ,’ मन्जित भन्छन् । 

यस विषयमा रविको समूहसँग सहारा माग्दा आफूले केही सहयोग गर्न नसक्ने बताएको उनी बताउँछन् । पैसा नतिरी भागेर जाऊ समेत भनेको मन्जित बताउँछन्  ‘रवि लामिछाने र उहाँको फाउन्डेसनले पैसा उठाएको र सहयोग जुटिरहेको थाहा पाएपछि भर्ना हुन फोन गरेका थियौ, उहाँहरूले नै आउन भनेपछि हामी यही आएका हौ, तर यहाँ आएपछि उहाँहरूले हामीलाई कुनै वास्ता गर्नुभएन । अहिले पैसा तिर्न नसके अस्पतालबाट भागेर जानु भन्नुभएको छ,’ सावित्राको छोरा मन्जित भन्छन् । ज्याला मजदुरी गर्ने उनको परिवार उपचार खर्च कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

यता दोलखाका जिरी ९ का ४२ बर्से दीपक गुरुङलाई समेत अस्पतालले बन्धक बनाएको छ । ज्याला मजदुरी गर्ने उनी अस्पताल भर्ना भएका महिना दिन बढी भयो । जेठ ६ गते भर्ना भएका उनी निको भएर अस्पतालले डिस्चार्ज गरिसकेको छ । अस्पतालले ६ लाख ८९ हजार ८५० अस्पतालको शुल्क र १ लाख ४८ हजार ९५ औषधिको शुल्क गरी ८ लाख ३७ हजार ९ सय ५० को बिल नतिरेसम्म जान नदिने बताएको बिरामीका भाइ वीरबहादुर गुरुङ बताउँछन् । जेठ ६ गते अस्पताल आउँदा रवि लामिछानेको समूहसँग सम्पर्क भएको र निःशुल्क उपचार गर्ने आश्वासन पनि पाएको बिरामीका भाइ वीरबहादुर दाबी गर्छन् । 

उनी भन्छन् ‘पहिला सहयोग गर्छौ भनेर भन्नुभयो, तर अहिले उहाँहरू अस्पतालमा हुनुहुन्न । फोन गर्दा उठाउनुहुन्न । एकपटक एक जनाले फोन उठाउनुभयो । सरकारले त सक्दैन हामी सक्छौँ त केही गर्न सक्दैनौँ भन्नुभयो ।’ 

यता अस्पतालले भने आफूहरूको कम्पनी भएकोले रविको केही नचल्ने जवाफ दिएको पीडितहरू बताउँछन् । पीडितहरू भन्छन् ‘अस्पताललाई हामीले गुनासो राख्दा रविले केही गर्दैनन्, गरेका पनि छैनन् । उनले गर्ने भनेको ५०– ६० हजारसम्म बिल आयो भने छुट गर्दिने हो । त्यही पनि उनीहरूले गर्न छाडिसके ।’

सहयोग माग्दा उल्टो धम्की

बिरामीका आफन्तले सयौँ पटक फोन गर्दा रवि लामिछानेले एकपटक मात्र फोन उठाएका छन् । ‘यस विषयमा अस्पतालमा बुझेर फोन गर्ने’ बताएका रविले फेरि फोन उठाउन छाडेका बिरामीका आफन्त बताउँछन् । रविकै समूहका डीपी अर्याल नाम गरेका व्यक्तिले भले उल्टो धम्की दिँदै आएको बिरामीका आफन्त गुनासो गर्छन् ।

आफूहरूसँग पैसा नभएको र केही सहयोग गरिदिन आग्रह गर्दा धम्की आएको बताउँदै मन्जिब राईले बताए । उनले भने –‘डीपी सरले उल्टो धम्की दिनुभयो । के गर्न सक्छन् गर भन्ने खालको अभिव्यक्ति दिनुभयो । स्वास्थ्य मन्त्रालय जाऊ कि पैसा नतिरीकन भागे हुन्छ भन्नुभयो ।’

अस्पताल भन्छ : सरकार र रवि दुवैले सहयोग छाडे

कोरोनाको उपचार गरेबापत सरकारले अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । बाग्मती प्रदेश सरकारले उपचार खर्च बेर्हाेने अस्पतालहरूको सूचीमा ३१ वटा अस्पताल छन् ।

जसमध्ये १३ औँ नम्बरमा जनमैत्री अस्पतालको नाम छ । सरकारबाट पनि सहयोग लिइरहेको सो अस्पतालले बिरामीबाट पनि पैसा असुलिरहेको छ । अस्पतालका प्रमुख व्यवस्थापक उमेश पाण्डे भने सरकारले समेत सहयोग गर्न छाडेको बताउँछन् । 

पाण्डेले नेपाल फ्ल्याससँग भने  ‘असार ८ बाट सरकारले उपचार खर्च दिन छाडेको छ । यता रवि लामिछाने फाउन्डेसनले पनि सहयोग गर्न छाडेको छ । हामी कहाँ आउनेलाई वीर अस्पतालमा पठाइरहेका छौँ । पैसा तिर्छु भन्नेहरू मात्रै उपचार गराइरहेका छन् ।’

अस्पतालसँग सम्झौता गरे पनि तोडे पनि के चासो ?

यस विषयमा रवि लामिछानेको निकटका डीपी अर्यालसँग सम्पर्क गर्दा आफूहरू निरन्तर अस्पतालमै बसिरहेको दाबी गरे । साथै उनले सबैलाई सहयोग गरिहरेको दाबी गरे । 

उनले नेपाल फ्ल्याससँग भने ‘म बिहान भर्खरै जनमैत्रीमा २ घण्टा बसेर आए, सबै पीडितलाई हेरिरहेका छौँ । सरकारले रकम सहयोग गर्न छाडेपछि सरकारी अस्पतालमा बिरामी पठाइरहेका छौँ । अर्को कुरा अस्पतालसँग के सम्झौता भयो वा भएन ? तोडियो कि जोडियो अरूलाई के चासो ?’ को कतिबाट कति सहयोग आएको र खर्च कति गरिएको विषयमा भने उनले जानकारी दिन चाहेनन् ।

यो पनि