जेठ ०५, २०८१, शनिबार
               

११ र १२ कक्षा सामुदायिक विद्यालयमा पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको थियो । उनका अनुसार कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुले अनिवार्य विषय निःशुल्क पाउँछन् भने ऐच्छिक विषय आफैँले खरिद गर्नुपर्नेछ ।

गत वर्षदेखि कक्षा ११ का विद्यार्थीहरुले तीन अनिवार्य र तीन ऐच्छिक गरी छ विषय अध्ययन गर्दै आएका छन । यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले पनि तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ विषय पढ्नुपर्नेछ । सोही अनुसार यस नयाँ शैक्षिक सत्रदेखि कक्षा १२ का विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार पढ्न पाउनेछन् ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा तथा गणित विषय अनिवार्य विषयको रुपमा अध्ययन गर्छन् भने अन्य तीन वटा विषय ऐच्छिक विषयका रुपमा अध्ययन गर्नेछन् ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को अनिवार्य पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषय पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका प्रकाशन केन्द्रले छाप्दै आएका छन् ।

यो पनि