जेठ ०५, २०८१, शनिबार
               

दुर्लभ समूहका रगत कसरी खोज्ने ?

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

आपत्कालमा आवश्यक पर्दा नेगेटिभ समूहको रगत पाउनै गाह्रो हुन्छ। त्यसमा पनि एबी नेगेटिभ समूहको रगत त निकै कम पाइन्छ।

धुलाबारी झापाका लीला खनाललाई आइतबार एक बिरामीका लागि रगत उपलब्ध गराइदिन भन्दै टेलिफोन आयो। खनाल र ती बिरामीको रगत समूह 'बी' नेगेटिभ भएकाले उनलाई फोन आएको थियो।

तर उनको स्वास्थ्य अवस्था त्यति राम्रो नभएकाले सोही रगत समूहका अर्का एक मानिससँग सम्पर्क गरेर ती बिरामीका लागि रगत उपलब्ध गराइएको खनालले बताए।

दुर्लभ (नेगेटिभ) समूहको रगत पाउन निकै गाह्रो हुने गरेको बताइन्छ। ब्लड ब्याङ्कका कर्मचारीहरूका अनुसार पोजिटिभ समूहको रगत पाउन सजिलो छ तर नेगेटिभ समूहको रगत निकै न्यून मात्र उपलब्ध हुने बिबिसीले जनाएकाे छ ।

कुन-कुन समूह दुर्लभ
त्यसमा पनि 'एबी' नेगेटिभ झनै दुर्लभ रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड ब्याङ्कको तथ्याङ्कले देखाउँछ।

जसमा देशभर 'एबी' नेगेटिभ समूहका मानिसहरूको प्रतिशत ०.४७ मात्र छ।

त्यस्तै नेगेटिभ रगत समूह 'ए'का ०.९७, 'बी'का ०.९४ र 'ओ'का ०.९२ प्रतिशत मात्र मानिसहरू रहेका रेडक्रसले जनाएको छ।

पोजिटिभ रगत समूहका मानिसहरूको रगत सङकलन गरेर ब्लड बैङ्कहरूमा निश्चित समयसम्म राख्ने गरिएको छ।

ती रगत समूहका रगतका पोका अस्पतालमा भर्ना भएका बिरामीहरूमा चाँडो उपयोग हुने भएकाले सङ्कलित रगत खेर जाने सम्भावना कम हुने ब्लड बैङ्कका कर्मचारी बताउँछन्।

ब्लड बैङ्कमा पाइन्न, कसरी खोज्ने?
तर नेगेटिभ समूहका मानिसहरूको सङ्ख्या पनि कम हुने भएकाले त्यस्ता रगत ब्याङ्कहरूमा राख्ने नगरिएको रेडक्रसको रक्त सञ्चार सेवाका उपनिर्देशक डा. प्रकाश यादवले बताए।

उनले भने, "सङ्कलित रगत चाँडै खपत हुनुपर्छ। नेगेटिभ समूहको रगत लिन आउने मानिसहरू कम हुन्छन्। जसले गर्दा त्यो खेर जाने सम्भावना हुन्छ।"

उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवाले सङ्कलन नै नगरे पनि नेगेटिभ समूहको रगत उपलब्ध गराउँछ।

प्रत्येक ब्लड ब्याङ्कहरूमा उक्त समूहका मानिसको विवरण हुन्छ। त्यसमा उनीहरूको सम्पर्क नम्बर पनि राखिएको हुन्छ। त्यस्ता रगत समूहका मानिसहरू रगत नै नपाएर ज्यान गएको अवस्था ज्यादै न्यून रहेको उनले बताए।

नेगेटिभ रगत समूहका मानिसहरूले उक्त समूहका मानिसको पहिचान गरेर घरका अन्य सदस्यलाई उनीहरूको बारेमा जानकारी दिइराखेमा रगत चाहिँदा अझ सजिलो हुने डा. यादवको सुझाव छ।

नेगेटिभ समूहका रक्तदाताहरूले धेरै टाढासम्म पुगेर पनि सेवा दिइरहेको 'बी' नेगेटिभ समूहका लीला खनाल बताउँछन्।

उनी भन्छन्, "अहिले त धेरै सङ्गठन पनि बनेका छन्। रेडक्रसमा सम्पर्क गर्ने बित्तिकै हामीलाई खबर आउँछ। हामी तुरुन्त नेगेटिभ ब्लड ग्रुपवालाहरूसँग सम्पर्क गरेर खटिइहाल्छौँ।"'

तर नेगेटिभ समूहका देशैभर रहेका मानिसको ठेगाना र सम्पर्क नम्बर रेडक्रसले अद्यावधिक गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि