जेठ ०५, २०८१, शनिबार
               

मेलम्ची बजार पुरेको लेदो हटाउन सकिएला ?
विस्थापित कसरी बाँचिरहेका छन् ?

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

यही असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस बनायो । कैयौँ व्यक्ति आफन्त तथा घरबारविहीन भए । बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सकुशल सम्पर्कमा आएका छन् ।  भने ३ जना मृत भेटिएका छन् । अझै २१ जनाको अवस्था अज्ञात छ । 

अधिकांश घर कि त ढल्केका छन्, कि लडेका की पुरिएका छन् ।  इन्द्रावती नदी किनार वरपरका बजार तथा बस्तीका अधिकांश घरहरू आधा पुरिएका थिए । सडक छेउका केही घरहरू मात्रै सकुशल छन् । नदीको कटानले बचेका केही घरहरू समेत जोखिममा छन् । मेलम्चीको मुख्य बजार आमाहेलम्बु बसपार्क बगरमा परिणत भएको छ । बरपरकार घर दुई तल्लासम्म लेदोले डुबेको छ । 

मेलम्ची बजारमा जमेको सोही लेदो दलदल हटाउन सकिन्छ की भन्ने विषयमा विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ । पुरिएको घरलगायत संरचना हिलो पन्छाएर निकाल्न सकिन्छ कि भन्ने झिनो आशा रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल बताउँछन् । उनले भने ‘जिल्लाभरका क्रसर व्यवसायी तथा निर्माण व्यवसायीसँग छलफल भइरहेको छ । मेलम्ची प्रहरी चौकीमा भेला भई लेदो हटाउन डोजरलगायतका साधन सहयोग गर्न भनिएको छ । हेरौँ सकिन्छ की सकिँदैन ।’

सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार बाढीका कारण मेलम्ची तथा हेलम्बु क्षेत्रमा कति जना घरबारविहीन भए भन्ने यकिन भइसकेको छैन । हेलम्बु गाउँपालिकाले चाहिँ ३७ परिवार अर्थात् ३ सय जना व्यक्ति विस्थापित भन्दै तथ्याङ्क आएको छ । मेलम्ची क्षेत्रको चाहिँ अहिलेसम्म विस्थापितको सङ्ख्या यकिन हुन नसकेको तर प्रभावित व्यक्तिको सङ्ख्या भने ६ सय अनुमान गरिएको छ। यस्तै जुगल गाउँपालिकामा पनि केही परिवार समस्या परेका छन् ।

विस्थापितको जीवनचर्या कस्तो छ ?

बाढीपछि बिथोलिएको मेलम्ची क्षेत्रको जनजीवन बिस्तारै सामान्यीकरण हुँदै गएको छ । बाढीको मात्रा घटेको छ । जनजीवन बिस्तारै सामान्यीकरण हुँदै छ । तर घरबार पुरिएकाहरूको भने बिचल्ली छ । 

सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार धेरैजसो विस्थापितलाई मेलम्चीमा रहेको एक विद्यालयमा राखिएको छ । केहीलाई नेपाली सेनाको ब्यारेकमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाइएको छ । 

‘कतिपय आफन्तकोमा जानुभएको छ, कतिपय काठमाडौंतिर जानुभएको जानकारी पाइएको छ, मेलम्चीमा समस्या छैन’ उनले भने, ‘हेलम्बुमा चाहिं अलि समस्या छ, त्यहाँ प्रहरी चौकी पनि विस्थापित भयो, फोन सम्पर्क पनि टुट्यो, ३ गतेबाट बल्ल कतै कतैबाट सम्पर्क हुन थालेको हो । केही खाद्यान्न र टेन्ट केही पठाएका छौँ ।’


कस्तो लाग्यो ?

यो पनि