जेठ ०७, २०८१, सोमबार
               

मनाङमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा रहेका तालगाउँका बासिन्दालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै पोखरेलले तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र बसोबासको प्रबन्ध गर्न भनेका  छन् । उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उहाँले अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताए ।

नासो गाउँपालिका–१ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार बाँकि घर पनि जोखिममा छन् । स्थानीय घर छाडेर सुरक्षित स्थानमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । प्रजिअ लामिछाने डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रवन्ध मिलाइएको बताएका छन् ।

प्रहरी नायब उपरीक्षक सुवास खड्काले तालस्थित प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताए । डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ । सदरमुकाम चामेस्थित तातोपानी कुण्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहमा क्षति पुर्‍याएको छ । प्रदेशभित्रका जिल्लामा पर्ने राजमार्गमा अहिले वर्षाकै कारण यातायात सेवा अवरुद्ध छ ।

 


कस्तो लाग्यो ?

यो पनि