जेठ ०६, २०८१, आइतबार
               

कहिले आउला सबैलाई पुग्ने खोप, बल्ल दुई प्रतिशतले लगाए
खोप खरिदमा कहाँ अल्झियो सरकार ?

ADVERTISEMENT

जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट १ डोज करोड कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै ब्रेक थ्री हुने दाबी गरेका थिए । खरिद प्रक्रिया सुरु हुनै लागेकाले १५ दिनमा खोप आइपुग्ने उनको दाबी थियो । 

तर, उनले दाबी गरेको समय सीमा सकिँदा समेत खोप खरिदमा सरकारको ध्यान जान सकेको छैन ।  नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाउन हम्मे हम्मे छ । लामो समय राजनीतिक खिचातानीमा तानिएको सरकार अहिले खोप खरिदका लागि पहल गरिरहेको बताए पनि उपलब्धि देखिएको छैन । तर, विश्व बजारमा नै खोप उत्पादन र आपूर्तिको समस्या भएकोले नेपालले खोप पाउन हम्मे हम्मे परिरहेको सरकारी अधिकारीहरूको दाबी छ ।

सरकारले खोप ल्याउन कूटनीतिक प्रयास जारी रहेको भन्दै आएको धेरै भए पनि प्रगति केही देखिएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पनि न त कुनै देशसँग नै खोप खरिद हुन सकेको छ न त कुनै कम्पनीसँग नै । यो बिचमा अमेरिका र बेलायतले नेपाललाई खोप दिने हल्ला चले पनि त्यसमा ठोस प्रगति नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउँछन् । 

सरकारले खोपको सम्बन्धमा विभिन्न मुलुकहरू र कम्पनीहरूसँग छलफल गरिरहेको भए पनि खोप ल्याउने सम्बन्धमा ठोस सम्झौता भने अहिलेसम्म नभएको उनी बताउँछन् । ‘खोप दिन विभिन्न कम्पनी र देशहरूलाई पत्राचार गरी आग्रह गरिएको छ । तर, विभिन्न देशहरू विषेशगरी ठुला देशहरूले पहिले नै कोरोना विरुद्धको खोप बुकिङ गरिसकेकोले उनीहरूले अहिले दिन नसक्ने बताइरहेका छन् । कहिले आउँछ थाहा छैन ।’

खरिद प्रक्रिया नै ढिलो 

बेलैमा ध्यान पुर्‍याएर खोप खरिद गर्ने देशहरूमा अहिले खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको छ। उनीहरूले खोप उत्पादन भइरहँदा आवश्यक छलफल गरेका थिए ।  

कतिपय देशले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)  ले प्रयोगको मान्यता नदिँदै खोप खरिद प्रक्रिया अगाडि बढाए ।  कतिपय देशले मान्यता दिइसकेपछि अग्रिम खोप खरिद गरे । तर  खोप खरिद प्रक्रिया ढिला अघि बढाउने नेपाल जस्ता देशहरूमा खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जानकारहरू बताउँछन् ।

मेयरदेखि राष्ट्रपतिसम्मको हार गुहारले किन काम गरेन ?

नेपाल सरकार र सरकारी निकायले भने अहिले आएर खोप खरिदको लागि हारगुहार गरिरहेका छन् । त्यति मात्र होइन नगरपालिकाका मेयर देखि राष्टपतिलेसम्म खोप खरिदका लागि विभिन्न ठाउँमा पत्राचार गरिरहेका छन् । विभिन्न कूटनीतिक नियोग हुँदै, स्वयं देशका राष्ट्रपतिले विभिन्न खोप उत्पादक कम्पनी र सम्बन्धित देशहरूलाई खोप उपलब्ध गराइदिन पत्राचार गरेका हुन् ।

तर, हालसम्म आउँदा खोप खरिदमा कुनै पनि ठोस प्रगति हुन सकेको छैन । कारण हो धेरै देशहरूले खोप अग्रिम खरिद गरिसकेका छन् । खोप उत्पादन गर्ने कम्पनी थोरै छन् । यतिसम्मकी कतिपय कम्पनीहरूले त सन् २०२१ वर्षभरिको लागि खोप उपलब्ध गर्न नसक्ने बताउन थालिसकेका छन् । 

नेपाल सरकारले सुरुमा भारत बाहेक अन्त खोपको लागि प्रयास नै गरेन । अहिले खोपको लागि हारगुहार गरेर मात्रै खोप पाउन मुस्किल रहेको विज्ञहरूले बताउँछन् । उत्पादन कम्पनी कम भएको, आपूर्ति प्रक्रियामा समस्या र ठुला देशहरूले खोप कब्जा गरेका कारण खोप समान रुपमा वितरण हुन नसकेको एक विज्ञ बताउँछन् ।

ती विज्ञ भन्छन् ‘नेपालले अहिलेको खोपसम्बन्धी नीति अनुसार कुनै देशले मान्यता दिएको खोप आयात गर्न सक्ने व्यवस्था छ । यस्तो अवस्थामा विज्ञहरूले बृहत् छलफल गरेर तेस्रो ट्रायलमा रहेका खोपलाई खरिद गर्न सहज हुनेछ ।’

दुई वर्षमा दुई प्रतिशतलाई खोप

यसअघि भारतबाट १० लाख डोज अनुदान आएको थियो । र १० लाख डोज खरिद गरिएको थियो । र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज, र चिनियाँ भेरोसेल खोप ८ लाख र १० लाख डोज अनुदान गरी कुल ४१ लाख ४८ हजार मात्रा खोप नेपाल आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोभिशील्ड र भेरोसेल गरेर कूल २१ लाख १२ हजार ४ सय ९३ जनाले खोप लगाएका छन् । यो भनेको नेपालको कुल जनसङ्ख्याको करिब ८ प्रतिशत हो ।

त्यस्तै हालसम्म कूल ३ लाख ९० हजारले दोस्रो मात्राको खोप लगाएका छन् । तीन करोड जनसंख्या भएको देशमा यो भनेको कुल जनसङ्ख्याको करिब २ प्रतिशत हो । अर्थात् नेपालमा हालसम्म खोपको पुरा मात्रा लगाउने जनसंख्या २ प्रतिशत मात्रै छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा भेरोसेल खोप कार्यक्रम भने अहिले सञ्चालनमा छ  ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि