असोज ०६, २०८१, आइतबार
               

एसएसबीको अवरोध हट्यो

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी थिए ।

छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दैै आएको बताएको छ । गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भए पनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबी तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए । यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो । 

यसैगरी, भीमदत्त नगरपालिका-९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्भर्ट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने काममा पनि विवाद तथा अवरोध हुँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि