असोज ०६, २०८१, आइतबार
               

दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्रे सुरु

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

पर्वत । कोरोनाको संक्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्ड अन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।

उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिए ।

आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले बताए ।

यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेको भनाइ छ । 

गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उनले बताए । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का इञ्जीनियर प्रेमहरी पराजुलीले बताए । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि ६१ करोड रुपैयाँ बजेट रहेको छ । 

दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताए ।

फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ ।

यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैँयु गाउँपालिकाका नागरिकहरुलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि