असोज ०६, २०८१, आइतबार
               

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन् ।

सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र सुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको बताएका छन । 

नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ ।

जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ ।

‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन’, उनले भने, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ ।’ कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले बताए । 

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा प्रकाशन गर्न लागेको बताएका छन् । 

त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्यांकनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधि अनुसार विद्यालयहरूलाई मूल्यांकन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । 

बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए  ।

आठबीसकोट नगरपालिकामा पनि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए । रुकुम पश्चिमा ६ वटा स्थानीय तहले आन्तरिक मुल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गर्ने तयारी थालेका छन् । 

यो पनि